Monday, April 30, 2012
शब्द-संकल्प
Thursday, April 12, 2012
शहर बढेपछि
शहर बिस्तार भयो भन्छन
सांघुरिनु नै यसको नियति भएको छ
साँघुरा घर/ बस्ती
साँघुरा स्कुल/ कार्यालय
साँघुरा सडक / गल्ली
र सांघुरै सबारी साधनहरु
मान्छेको भीड मात्रै ठूलो
टेक्ने ठाउँ जहाँतहीं साँघुरो
शहर ठूलो भयो भन्छन
नपुग्नु / नअट्नु नै यसको परिणति भएको छ
बच्चाबच्चीलाई खेल्ने चौर छैन
बुढाबुढीलाई टहलने पार्क छैन
अस्पताल त व्यस्त सडकमै छन्
नदी किनारैमा पनि
उभिएर हेर्ने ठाउं छैन
अब त
फेवाताल पनि साँघुरियो/ घेरियो रे !
कहांबाट खिचुं हजुर, माछापुच्छ्रेको तस्बीर
शहर अग्लिंदा समेत
रहर खस्किने गरी क्षति भएको छ
ए विकासे अड्डाका ...साहेबहरु !
मन फुकाउनलाई
चाक्ला ठाउँहरु कतै रहन देउ न
तिम्रा तर्कना / योजना पनि
सेतीको खोंचभन्दा
झन् कति साँघुरा हुन् ?
शहर फैलियो भन्छन
Thursday, March 22, 2012
पहाडमाथिको अनुसन्धान
चारैतिरबाट मानिसहरु पहाड खोस्रिरहेछन
पहाडमाथि अनुसन्धान भैरहेछ
कोही छिनो फोर्दैछन
कोही तस्बिर हेर्दैछन
कोही रसायन हाल्दैछन
कोही आगो बाल्दैछन्
कोही धुलो झार्दैछन्
कोही दुलो पार्दैछन
कसैसंग पनि असिमित औजारहरु छैनन् यतिबेला
जे छन्, त्यसैले बिचार्दै छन्
पहाडलाई बुझ्ने आ-आफ्ना तरिका छन्
भिन्न भिन्न सोच
तर एकैखाले अठोट छन्
कहिले उनीहरु आफैंलाई हेरेर हांस्छन्
कहिले अर्कालाई हेरेर हांस्छन्
असमन्जसमा
कपाल कन्याउँछन्
निधार समाउँछन्
र फेरि उर्जा निकालेर
गम्भीर हुँदै काममा लाग्छन
पहाड बुझ्नु सजिलो काम त होइन रहेछ
पहाडभित्र पनि असंख्य पहाड छन् भन्छन कोही
पहाडबाहिर पनि अनगिन्ती पहाड देखिएकै छन्
सम्पूर्ण अनुसन्धान
पहाडको मझेरी छ भन्ने अंदाजमा भएको छ
त्यहाँ पुगेपछि
पहाड बुझिन्छ भन्ने विश्वासमा भएको छ
सबै पहाडहरु भने
बुझिन्छ कि के गर्छ
बिबादमै रहेको छ
पहाडको अनुसन्धानसंगै
ससाना परिणति र ठुल्ठुला सम्भावनाका
ढिस्काहरु जम्दै जम्दै
अर्को पहाड खडा भएको छ
अब पहाड बुझ्न आउनेहरुले
दुवै पहाड नखोस्री धर छैन,
पहाड राम्ररी बुझ्ने अर्को उपाय पनि त छैन !
Saturday, March 10, 2012
फुकुशिमा !
जब
बांचिराखेको जिन्दगी
र सांचिराखेका सपना
फर्लक्कै पल्टिएर निमेषमै
छिया छिया बन्छन बिपनीमा
तब
सम्झाउने कोही हुनु र
सम्झिनुभन्दा अर्को बिकल्प हुँदैन बिपत्तिमा
फुकुशिमा !
सदियौंदेखिको धर्तिको गुम्फनले
जब बाटो खोज्यो बिष्फोटनको
र हठात्
असह्य झाँक्री कम्पन निकालेर यसले
घचक्कै काँधमा उठाएर महासागरलाई
घोप्ट्यायो मानव बस्तीहरुमा
स्थिरताका हर नियम उल्लङ्घन गर्दै
उर्लिएर आयो पानीको राक्षस पहाड
र त्यसले
तासका थुप्रालाई झैं
तान्दै पछार्दै गर्यो -
असंख्य जीवन बहार
सभ्यताका हर सुन्दर उपहार
घर, मन्दिर, स्कूल, अस्पताल
बाटा, खेत, बन, पैदावार …….
निमेषमै सबथोक गले, ढले क्रुर भुँवरीमा
छोडेर सारालाई अथाह अश्रु जलधिमा
यो के भयो फुकुशिमा !
कहिले रंगीबिरंगी पातले
कहिले सेतै फूलले
र कहिले सेताम्य हिउंले
छ्पक्कै छोप्थ्यो यहाँ,
सधैंभरी पार्कहरुमा
बच्चाबच्चीहरु रमाई रमाई खेल्थे
प्रौढ़हरु टहलाउंथे
हानाबी र हानामी मनाउँथे - फूलसंगको सामिप्यतामा
आज जमिन छ, खेत छैनन्
कहीं खेत छन्, घर छैनन्
घरमात्रै छन् कति, मानिस छैनन्
मानिस भएकै ठाउंमा पनि
सबैथोक सुनसान छ
घरबाहिर दिउँसै मसान छ
बडेमा कुडाकर्कटका पहाडहरु
र तिनमा समेत लुकीढुकी बसेको
न आँखाले देखिने, न छामेर भेटिने
कुन बिषले ढाक्यो, हरे ! यो भूमिमा
फर्की बस्न समेत
निषेध टाँसेको, आफ्नै मझेरीमा
फुकुशिमा !
छिया छिया छ सबथोक-
कहांबाट फेरि के के जोड्ने हो थाहा छैन
जिन्दगीलाई फेरि कसरि खोज्ने हो थाहा छैन
जो गुम्यो त्यहि नभए पनि
केहि त गर्ने अठोटले,
सम्झाउने कोही हुँदा
सम्झिनुभन्दा अर्को सन्तोष हुँदैन बिपत्तिमा
फुकुशिमा !
Sunday, March 4, 2012
राजु भाई र होचा मान्छेहरु
"आज फेरि अर्को होचो मानिस फेला पर्यो"
राजु भाई करायो-
"होइन, कति होचाहरु छन् हौ यो देशमा ?
गिनेश बुकले खोज्नै नपर्ने, अन्त/बिदेशमा "
"चुप लाग" - मैले हपारें-
"कति नै अग्लो पो छौ र हौ तिमी पनि ?
सगरमाथाको फेदीमा जन्मंदैमा
अग्लै हुनुपर्ने त्यस्तो केहि छ ? "
जनस्वास्थ्यको जागिर
हुम्लाको दरबन्दी
बाह्रै मैना देख्छु काठमान्डूमै घरबंदी
काम/कर्तब्य उतै दराजभित्रै होलान
अधिकार भने सुरक्षित,
आफूसंगै बोकेर
संघ र संगठनका बैठक तोकेर
घर/जग्गाको कारोबार समेत धानेर
यहाँ घाममा पलेंटी कस्दै
'कान्तिपुर' र 'नागरिक' पल्टाएर बस्दै
चढाएकै छौ नि हौ बर्षभरिको हांजिरी ?
कसले पो नाप्ने हौ तिम्रो दादागिरी !
अक्षर त चिनेकै छौ, भाईसाहब
“अन्याय पर्यो” भन्दै असुलेको
दुर्गम जिल्लाको गह्रुङ्गो भत्ताले
बिदेशी अखबार पनि किन्न मिल्ला, कहिलेकाहीं
एक प्रति पढेर हेर,
चन्द्रबहादुरको देशको चिनारीमा लेखिएका
शब्द शब्दमा गढेर हेर
सम्झी ल्याउँदा,
तिमीजस्तैले हो देश बिगारेको
कुपोषण र गरिबीले ग्रस्त पारेको
धन्न हैजाले भेटेनछ रिम्खोली
सिमिकोटमा के कसो हुँदैछ हौ, आजभोली ?
यस्तैखाले अनेक ख्यालपातिले गर्दा
चन्द्रबहादुर र खगेन्द्र मात्रै होइनन्
तिमी स्वयम् र म पनि
(यथार्थमा, हामी सबै)
भीमकाय अग्ला शिखरहरुमुनि बस्ने
संसारकै सबैभन्दा होचा भएका छौं
न अरु गढ्न सक्ने, न हर्लक्क बढ्न सक्ने
बेकामका मक्किंदा घोचा भएका छौं
होचिएर पनि हुन्छ र हौ, पर्यटनको प्रबर्द्धन ?
कहिँ नभएको पछौटेपन नै यो देशको बिज्ञापन !